
२ कात्तिक,काठमाडौं ।नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ ।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हटाइएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सकिएको घोषणा गरेसँगै प्राधिकरणले मनसुनमा हेलिकप्टरको उडानका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको प्राधिकरणको भनाई छ।मौसम पूर्वानुमान महाशाखाले १२ अक्टोबरदेखि नेपालबाट मनसुन बाहिरिएको घोषाणा गरेको थियो।
मनसुनको समयमा जतिबेला पनि मौसम परिवर्तन हुनसक्ने र हेलिकप्टर उडानमा जोखिम हुने भन्दै प्राधिकरणले हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाएको थियो।
त्यस्तै प्राधिकरणले हेलिकप्टर उडानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाटै अनुमति दिने व्यवस्था पनि गरेको छ।‘नर्मल कार्गो’ तथा प्यासेन्जर उडान र उपत्यकाभित्र हुने उडानको अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै दिने व्यवस्था पनि गरेको जनाएको छ।
अब पाइलटको चेक,नन कमर्सियल,सिलिङ र अन्य विमानस्थलबाट सुरु हुने उडानमात्रै अनुमतिका लागि प्राधिकरण प्रधान कार्यालय जानुपर्ने व्यवस्था गरिएको छ।
‘अघिल्लो वर्ष मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि देशभरको सम्पूर्ण हेलिकप्टर उडानको अनुमति प्रधान कार्यालयबाट दिने व्यवस्था गरेका थियौँ,अहिले काठमाडौँ विमानस्थल र उपत्यकाबाट सञ्चालन हुने हेलिकप्टरको हकमा उडान अनुमति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिनेगरी अधिकार फिर्ता गरेको र पहिला जसरी अनुमति दिइन्थ्यो त्यसरी नै दिइने व्यवस्था गरिएको छ ’ उनले भने ।
