सार्वजनिक यातायातमा महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क यात्रा गर्न पाउने

२ कात्तिक,काठमाडौं ।महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका बेला निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहितको छलफलमा यातायात व्यवसायीले सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् ।

स्वास्थ्य स्वयंसेविकाहरू न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि प्रयत्नरत रहेको भन्दै यातायात व्यवसायी राष्ट्रिय महासंघसँग मन्त्री पौडेलले उनीहरूलाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेको मन्त्रालयले जनाएको छ ।यसमा यातायात व्यवसायी राष्ट्रिय महासंघ सहमत भएपछि मन्त्रालयमा शुक्रबार यस सम्बन्धमा समझदारी भएको हो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले १५ कात्तिकदेखि यस्तो व्यवस्था लागु गर्न मन्त्री पौडेलले गरेको आग्रहमा सहमति जनाएका छन् ।‘महिला स्वास्थ्य स्वयंसेविकाहरूले देशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्त्वपूर्ण छ,’ मन्त्री पौडेलले भने, ‘आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभार व्यक्त गर्दछु ।

निःशुल्क यात्रा गर्न पाउने भएपछि महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्था लगायतले मन्त्री पौडेल र व्यवसायी महासंघप्रति आभार प्रकट गरेका छन् ।

सो सम्झौतासँगै अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिएका छन् ।