२ कात्तिक,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी,पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई ठुलो विपद्को संज्ञा दिंदै तीनै तहका सरकार राहत वितरण र पुनःनिर्माणका काममा जुट्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा आज शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दिवंगतहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोज,उद्धार,राहत र पुनर्निर्माणका लागि गम्भीरताका साथ काम गर्नु पर्ने कुरामा जोड दिंदै सोही अनुसार सरकारले काम गरिरहेको पनि बताए ।
“अहिलेको परिस्थितिमा के गर्न पर्छ र के गर्न सकिन्छ ।तीनै तहका सरकारबाट समन्वयतात्मक रुपमा काम गर्नुपर्नेछ ।”, प्रधानमन्त्री ओलीले भने, “कसरी जनतालाई छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जानुपर्छ ।हुन त समाजमा कुरा काट्ने प्रवृत्ति पनि छ तर हामीले त्यसको पर्वाह नगरी सहयोगको प्रवृत्ति बढाएर विपत्तिको मिलेर सामना गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले भने।
