ट्रायल पास गर्ने वित्तिकै अब मोबाइलमा लाइसेन्स प्राप्त भइहाल्ने

४ कार्तिक,काठमाडौं ।सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ।

सरकारले तत्कालका लागि आजदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो।

आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका हुन् ।

लाइसेन्स छपाइ नहुँदा परेको समस्याको अन्त्य भएको चर्चा गर्दै उनले लेखेका थिए, ‘भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ ।कुनै पनि कामका लागि लाइन बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्ने छ भन्ने हामीले आशा राखेका छौँ ।’

 उनले सवारी नियम उल्लङ्घनमा जरिबाना तिर्दा हुने झन्झट पनि हटेको बताएका छन्।प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ ।सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ।’

श्रम,रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले पाँच महिनादेखि नागरिक एपमा लाइसेन्स वितरणको परीक्षण गर्दै आएको थियो।परीक्षणको सफलतापछि सबै संरचनालाई डिजिटल बनाएर सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ ।