
३ कार्तिक,मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका लागि उत्पादन बन्द गरेको छ ।
क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने अवस्था आएकाले आजदेखि उत्पादन बन्द गर्नुपरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले सगरमाथाप्रेसलाई बताए।
उनले भने ,“उद्योगलाई आवश्यकपर्ने करिब चार सय मेट्रिक टन कच्चापदार्थ कोइला जगेडा राखिएको र बाँकी थप कोइला खरिद गर्न बोलपत्र आह्वान गरी सम्बन्धित पक्षलाई स्वीकृति प्रदान गरिसकेका छौँ, त्यसैले मर्मत सकिएलगत्तै काम सुरु गर्छौं”।
महाप्रबन्धक पाण्डेका अनुसार अहिले उत्पादित सिमेन्टको बोरामा प्याकिङ गरी काठमाडौँलगायत विभिन्न सहरमा पठाउने काम भइरहेको छ ।हाल यस उद्योगमा प्रशासन,भण्डारण,बजार व्यवस्थापन, चुनढुङ्गा खानी र मजदुर कर्मचारीलगायत एक सय ८० जनाले प्रत्यक्ष रोजगारी गरिरहेका छन्।
उद्योगसँग दैनिक क्षमता १८ हजार बोरा उत्पादन गर्ने क्षमता भए पनि पछिल्लो समय १० हजार बोरामात्र उत्पादन हुने गरेको छ।
