४ कार्तिक,काठमाडौं ।सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज आइतबार अदालत पेस गरिने भएको छ।
शुक्रबार साँझ पक्राउ गरी पोखरा पुर्याइए पनि शनिबार सार्वजनिक बिदा परेकाले आजमात्र उनलाई अदालत पेस गरिने भएको हो।
उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ। जिल्ला अदालत कास्कीले शुुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक रहेका कारण लामिछाने पक्राउ परेका हुन् ।संसदीय छानबिन विशेष समितिले सहकारी बचत अपचलनमा उनको संलग्नता रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो।
समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने,अध्यक्ष जीबी राई,तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी,किर्ते,संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुने गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो।
उनका व्यावसायिक साझेदार जोशी अहिले थुनामा छन्।लामिछानेलाई जोशी पक्राउ परेको मितिले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।
संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा,संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।
पोखराको सूर्यदर्शन,चितवनको साहारा,बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको
पाइएको थियो।
