
२३ कार्तिक,काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ ।
स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।
