
सीता पौडेल(अर्चना)
२७ कार्तिक,काठमाडौं। आज हरिबोधनी एकदशी।औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु कार्तिक शुक्ल एकादशीमा ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म ४ महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन्।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाह गरिन्छ।तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा रहेको छ।
तुलसी प्रयोगको फाइदा
तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्।तुलसीको पात,डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि मानिन्छ। यसको रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन। तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन्।
मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ।मलेरिया रोग उत्पन्न गर्ने वायुलाई नष्ट गर्न सक्ने शक्ति तुलसीमा भएको आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ।
धार्मिक महत्त्व
शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई औषधि मानिन्छ। कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ भनी व्याख्या गरिएको छ।
आज रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ।
आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ। यसरी व्रत गरेमा पापको नाश भइ पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ। आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ।
नागार्जुन नगरपालिकामा सार्वजनिकि बिदा
काठमाडौंको नागार्जुन नगरपालिकामा आज विशेष मेला लाग्दै छ। नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ।
नगरपालिकाका उपप्रमुख शुशिला अधिकारीका अनुसार आज मंगलबार (१ दिन) नगरपालिका कार्यालय,वडा कार्यालय र सामुदायिक तथा निजी शैक्षिक संस्थाहरुमा स्थानीय पर्व बिदा दिइएको हो।
उपत्यकाका चार नारायणमध्येका कान्छा नारायण इचंगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने र आज भक्तजनको विशेष भीड लाग्ने हुँदा स्थानीय पर्व बिदा दिइएको उपप्रमुख अधिकारीको भनाई छ। ।
साथै आज बूढानीलकण्ठ लगायत देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ।
हरीबोधनी एकादशीको दिनमा प्रसादको रुपमा विशेषगरि सख्खरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान विष्णुलाई चढाएर ब्रतालुहरुले प्रसादको रुपमा खाने गर्छन् ।हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पिपल, दूबो र शालिग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिएको छ ।
हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।
आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म तुलसीको हवन गर्न हेराउनु नपर्ने धार्मिक मान्यता छ। त्यसपछि हवन (होम) जुरेका दिनमात्र तुलसी पूजा गर्न हुने विधि छ।
फाइल तस्विर
