पश्चिमी वायुको प्रभाव : तापक्रम घट्दा काठमाडौं उपत्यका सहित देशभर जाडो बढ्यो

२५, मंसिर काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।यस्तै, राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । मौसम बदली सँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसभन्दा तल झरेको छ । यस्तै, न्यूनतम तापक्रम समेत ५ डिग्री सेल्सियस हाराहारी आएको मौसमविदले बताएका छन् । जसकारण मानिसहरुलाई एका विहानै घर बाहिरन निस्किन कठिनाई भएको छ ।