
११, फागुन बागलुङ । पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । हरेक महिना गाउँ छोडेर बजार झर्ने बढ्दै गएपछि बस्ती सुनसान बन्न थालेका छन् भने खेतीयोग्य जमिनमा झाडी पलाएका छन् ।
बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा तीन सय ४७ परिवारका एक हजार दुई सय ८० जनाले गाउँ छोडेका छन् । गाउँमा शिक्षा, स्वास्थ्य, यातायातलगायतका विकास पुग्दै गरे पनि स्थानीयले बसाइँसराइ गर्न छाडेका छैनन् । चालु आर्थिक वर्षको सात महिनामा दुई सय १० जनाले गाउँ छाडेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए ।
साउनयता ५५ परिवारले बसाइँसराइ गरेर अन्य ठाउँमा गएका हुन् । यस वर्ष सबैभन्दा धेरै वडा नम्बर १ धुल्लुबास्कोटबाट १३ घरपरिवारका ५८ जना र सबैभन्दा कम वडा नम्बर ५ सुखौराका छ घरपरिवारका २० जनाले बसाइँसराइ लिएको क्षेत्रीको भनाइ छ । दुई वर्षको अवधिमा ४० परिवारका एक सय ३१ जना बसाइँसरेर बरेङमा आएका छन् ।
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बसाइँसराइ रोक्नका लागि पालिकाले जनताका आधारभूत आवश्यकता पूरा गरी गुणस्तरीय सेवा प्रवाहमा लागेको बताए । पालिकाका सबै वडा र बस्तीमा सडक पुर्याउनका साथै खानेपानी, विद्युत् र स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिए पनि बसाइँसराइ रोक्न नसकिएको अध्यक्ष शर्मा बताउछन् ।
