
१८, चैत काठमाडौं । हराएको चार दिनपछि गाडिएको अवस्थामा एक युवकको शव भेटिएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करन कुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल छन् ।
उनीहरुले सर्लाहीको चक्रघट्टा(८ घर भइ काठमाडौं गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल साहको हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
उनी ११ चैतदेखि हराएको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी समेत परेको थियो । खोजतलासको क्रममा उनको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा १५ चैतमा फेला परेको थियो ।
