बालाजु बाइसधारा मेला व्यवस्थापनको तयारी तिब्र,मेलाको महत्व के छ ?

सीता पौडेल (अर्चना )

 २६ चैत्र,काठमाडौं ।हरेक वर्ष चैत्र शुक्ल पूणिमाको दिन लाग्ने बालाजु,बाइसधारा (ल्हुती पुन्ही) मेलाको व्यवस्थापनको तयारी तिब्र पारिएको छ ।

यहि चैत्र ३० गते शनिबारदेखि ५ दिनसम्म सञ्चालन हुने सो मेलामा आउने श्रद्धालु भक्तजनहरुको सुविधाको लागि बालाजु,बाइसधारा (ल्हुती पुन्ही) मेला व्यवस्थापन समितिले व्यवस्थापनलाई चुस्त तथा दुरुस्त पार्न  राम्रो तयारी गरिरहेको समितिका संयोजक प्रकाश बलामीले जानकारी दिए ।

संयोजक बलामीले यस वर्ष शनिबारका दिन मेला शुरु हुने भएकाले पनि धेरै संख्यामा भक्तजनहरुको सहभागीता रहने कुरालाई मध्येनजर गर्दै व्यवस्थापनलाई निकै प्रभावकारी तवरबाट चुस्त तथा दुरुस्त बनाउने तयारी भएको पनि बताए ।यसका लागि समितिले विभिन्न उपसमितिहरु बनाएर काम गरिरहेको उनले स्पष्ट पारे ।

सोमबार सगरमाथाप्रेससँग कुराकानी गर्दै उनले प्राचीन धार्मिक,सांस्कृतिक,पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको उक्त मेलामा करिब २ लाख श्रद्धालु भक्तजन(तीर्थयात्री)हरु आउने अनुमान गरेको समेत बताए ।

करिब १६२ रोपनी क्षेत्रफलमा फैलिएको सुन्दर उद्यान भित्र रहेका २२ वटा धारामा मेलाको समयमा सबै धारामा पानी आउने व्यवस्था मिलाइएको छ ।बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेका कारण  सो मेलालाई देशका सबै ठाउँबाट महत्वका साथ हेर्ने गरिएको पाइन्छ ।यस स्थानमा प्याथा अजिमा (सितलामाई ) मन्दिर र बाल बुढानीलकण्ठ नारायणको मन्दिर पनि छन् । परापूर्वकालमा उक्त ठाउँको सितलामाईको दर्शन गर्दा देशमा विफर रोगको महामारी हटेको भन्ने धार्मिक किंवदन्ती पनि रहेको पाइन्छ ।

यस दिनमा बाइसधारा स्नान गर्नाले शरीरमा भएको छालासँग सम्बन्धी रोगब्याधी हराउने तथा परिवारमा सुख शान्ति कायम हुने जनविश्वास रहेको छ ।साथै बाइसधारामा स्नान गरेर जामाचोमा गएर मेला भर्ने प्रचलन समेत छ ।जामाचोबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिने हुँदा पनि सो ठाउँको मेला अवलोकन गर्न मानिसहरु लालायीत हुने गरेको पाइन्छ ।

२०७९ सम्म महानगरपालिकाबाट मेलाको व्यवस्थापन हुँदै आएकोमा २०८० देखि मेलाको व्यवस्थापनको जिम्मा स्थानीयले नै पाएका छन् र यसको व्यवस्थापनमा लाग्ने खर्च मध्येमा १० लाख रुपयाँ काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गरिदिएको छ ।अघिल्लो सालदेखि  बालाजु,बाइसधारा (ल्हुती पुन्ही) मेला व्यवस्थापन समितिले सो मेला र जात्राको अपनत्व लिने अवसर प्राप्त गरेको  छ।

यस्ता स्थानीय मेला,जात्रा लगायत स्थानीय ऐतिहासिक सम्पदाहरुको संरक्षण र प्रबद्र्धनको जिम्मेवारी स्थानीयहरुलाई नै दिंदा बढी अपनत्व महसुस गर्ने र स्वस्फुर्त रुपमा बढी जनसहभागीता जुट्नुका साथै यसको व्यवस्थापन पनि चुस्त तथा दुरुस्त हुने विश्वास लिइन्छ ।