आजबाट देशभर सार्वजनिक सवारी साधन सञ्चालन हुने

२०, जेठ काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमबार राति सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिपछि पत्रकारहरुसँग कुरा गदै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताएका छन् ।उनले गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्ने निर्णय गरेपछि देशभर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सहमति भएको जानकारी दिएका हुन् ।

अध्यक्ष स्वाँरले गण्डकी प्रदेश सरकारले नियमावली पूर्णरूपमा फिर्ता नगरेसम्म आन्दोलन नरोकिने पनि स्पष्ट परे । संघ र प्रदेश सरकारले प्रक्रियागत विषयलाई फास्ट ट्र्याकबाट टुङ्ग्याउने प्रतिबद्धता जनाएकाले मङ्गलबार अपराह्नसम्ममा सार्वजनिक सवारी साधन चल्न सक्ने बताए ।

यस्तै, सरकारी वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तले गण्डकी प्रदेश सरकारले जारी गरेको निर्देशिका, जसले रातो नम्बर प्लेटलाई कालो नम्बर प्लेटसरह मान्यता दिएको थियो, स्थगित गर्ने सहमति भएको बताए । सङ्घीय कानुन नबनेको र प्रदेशले आफ्नो आवश्यकता अनुसारको कानुन बनाउनु बाध्यता भएको जानकारी उनले दिए । अब छिट्टै सङ्घीय कानुन (छाता ऐन) बन्ने अवस्था रहेकोले यस्तो द्विविधा र अप्ठ्यारो नहुने स्पष्ट परे ।