पर्यटन बोर्डले सुरु गर्‍यो ‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम

२२, जेठ काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘ट्राभल स्पेसलिस्ट-बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी नेपालसँगको सहकार्यमा बोर्डले अनलाइन पाठ्यक्रम सुरु गरेको हो ।काठमाडौँमा जारी हिमालयन ट्राभल मार्टको उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले क्युआर सार्वजनिक गर्दै अनलाइन तालिमको औपचारिक शुभारम्भ गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) नेपाल र नेपाल एयरलाइन्ससहित अन्य निजी क्षेत्रको सहकार्यमा बोर्डले आयोजना गरेको तीन दिने मार्ट आज सम्पन्न हुँदैछ । नेपालका पर्यटन पेसाकर्मीहरूको ज्ञान, दक्षता र सेवा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको यो अनलाइन तालिमले नेपालको पर्यटन उद्योगलाई दिगो, समावेशी र व्यावसायिक बनाउन सहयोग पुर्‍याउने मन्त्री पाण्डेको बताएका थिए ।