पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

२५, जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पैसा तिर्न नसकेकै कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाइ फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।

मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ हुने विश्वास पनि व्यक्त गरे। “जीवन विकास सामुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्थाको हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ ।

दुनियाँमा कमै मात्र यस्ता अस्पताल हुन्छन् ।’’, प्रधानमन्त्री ओलीले भने, “दुई सय श्यैयाबाट तीन सय श्यैयामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज सञ्चालन गर्ने जीवन विकास समाजको योजना पूरा हुन सकोस् ।

सरकार आवश्यक सहयोग गर्न तयार छ ।’’सो अस्पतालका अध्यक्ष एवं मोरङ–५ का संघीय सांसद योगेन्द्र मण्डलको नेतृत्वमा सृजनशील, सहकारिता र एकताबद्ध प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारी वृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्नेमा जोड दिए । उनले प्रतिफल राम्रो नहुने र तिर्न नसक्ने ऋण नलिई यस्तै अनुकरणीय काम गर्न अन्य जनप्रतिनिधि र पार्टीका नेताहरूलाई आग्रह गरे ।