७२ जिल्लामा फैलियो डेंगी

२६, जेठ काठमाडौं । मनसुन लागेसँगै डेंगी संक्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म असार–भदौ सम्मलाई डेंगी सङ्क्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगीलाई शून्यमा नै ल्याउने र डेंगी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए । उनले भने, “डेङ्गीको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ ।”

डा दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए ।“यो वर्ष डेंगी सङ्क्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्याङ्क छैन । यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन”, उनले भने ।

डा दाहालकाअनुसार सबैले डेंगी नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेंगी नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेंगी सङ्क्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ ।