पनौतीमा आइतबारदेखि हिले–जात्रा सुरु

२७, जेठ काठमाडौं । यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आजदेखि सुरु भएको छ ।

परम्पराअनुसार आज सोमबार साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुईवटा बाँस तेर्स्याइने र देवगण दुइचा न्याकेगू हरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ । आजै राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैंडु पूजा होम गर्ने पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।

जात्रा मनाउने क्रममा चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामसहित पूजा अर्चना गरिन्छ । साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीर जात्रा गरी नगर परिक्रमा गराइनुका साथै साँझै भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ ।

त्यसैगरी जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भागदौड गराउने र रथ भेटिँदा रथलाई एकापसमा जुधाउने काम हुन्छ । जात्राको विधिअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् ।

महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रूपमा अबीर जात्रा गरी रथ जुधाइने गरिन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् ।