गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

२७, जेठ काठमाडौं । गर्मी मौसम सुरु भएपछि छालाको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता थपिन्छ । गर्मीका कारण शरीरमा पसिना बढी आउँछ भने धुवाँधुलोले छालालाई असर पुर्‍याइरहेको हुन्छ ।

पसिना धेरै आउने भएकाले गर्मीयाममा दिनदिनै नुहाउनु पनि पर्ने हुन्छ । यसका साथै छालालाई स्वस्थ राख्न अन्य विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ । नुहाइसकेपछि शरीरमा बडी लोसन लगाउनुपर्छ । जसले छालालाई सुख्खा हुन दिंदैन । यसले घामबाट हुने एलर्जी, छालामा हुने सुख्खापनबमाट जोगाउँछ र छालालाई मुलायम बनाइराख्छ ।

हरेक दिन बिहान र बेलुका दुईपटक फेसवासले अनुहार धुने गर्नुपर्छ । फेसवासले अनुहारमा जमेको दिनभरिको धुलोमैलोलाई सफा गर्छ भने छालालाई फ्रेस बनाउँछ । सादा पानीले मात्र मुख धुँदा मुखमा जमेका फोहोर नपाल्न सक्छ । जसकारण मुखमा डन्डीफोर, एलर्जी जस्ता समस्या निम्त्याउन सक्छ ।छालालाई मुलायम बनाइराख्न मोइस्चराइजर क्रिम प्रभावकारी हुन्छ । यसले छाला फुट्ने, छाला पत्रपत्र भएर निस्किने र पोल्ने समस्या कम हुने गर्छ ।

यसको प्रयोगले छालामा पोषण प्राप्त हुन्छ, जसले गर्दा छाला ‘ग्लो’ गर्छ । यो क्रिमलाई अनुहार बाहेक घाँटी, हात तथा खुट्टामा समेत लगाउन सकिन्छ । घरबाट बाहिर निस्कनुभन्दा १५-२० मिनेट अगाडि सनस्क्रिन क्रिम लगाउनुपर्छ । सनस्क्रिन अनुहारमा मात्रै नभएर कपडाले नढाक्ने सबै भागमा लगाउनुपर्छ । यो लगाउनुअघि मोइस्चराइजर क्रिम लगाउनुपर्छ ।

सनस्क्रिन क्रिमले छालालाई घामको विकिरणबाट बचाउँछ । विकिरणबाट छालामा चायापोतो आउने, छाला कालो हुने समस्याबाट जोगाउँछ । सनस्क्रिन घरबाहिर हिंड्दा मात्र नभई घरभित्र बस्दा पनि सनस्क्रिन लगाउनु राम्रो हुन्छ । गर्मीमा धेरै पसिना आउने भएका कारण शरीरमा पानीको कमी हुनसक्छ ।

यसले गर्दा शरीरमा छाला सुख्खा हुने, एलर्जी र अनुहारमा दाग आउने समस्या आउन सक्छ । त्यसैले पानी धेरै पिउनुपर्छ । यसले शरीरमा भएको टक्सिन शरीरभित्रको विषादी चीज बाहिर निकाल्छ, जसले गर्दा अनुहारमा चमक आउँछ ।