
२७, जेठ काठमाडौं । चालु आर्थिक २०८१/८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दश महिनाको विवरण अनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो ।
यस्तो रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रहेको रहेको थियो । त्यस्तै विप्रेषण आप्रवाह अमेरिकी डलरमा १० दशमलव ५ प्रतिशतले बढेको छ ।
यस्तै कुल विदेशी विनिमय संञ्चिति १८ अर्ब ४० करोड डलर पुगेको छ । यो रकम १४ दशमलव ६ महिनासम्मको वस्तु र सेवा आयात धान्न पर्याप्त छ । गत वर्ष २०८१ असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो ।अमेरिकी डलरमा हेर्दा यो सञ्चिति २०८१ असारको १५ अर्ब २७ करोडबाट २०.५ प्रतिशतले बढेर १८ अर्ब ४० करोड पुगेको छ । यो सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग २२ खर्ब ११ अर्ब ११ करोड र अन्य बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड छ ।
गत वर्षको तुलनामा राष्ट्र बैंकको सञ्चिति १९ दशमलव ६ प्रतिशत र अन्य वित्तीय संस्थाको सञ्चिति ५६ दशमलव ८ प्रतिशतले बढेको छ । यो सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ दशमलव २ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार यो सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ४१ दशमलव १ प्रतिशत, कुल आयातको १२१ दशमलव ४ प्रतिशत र विस्तृत मुद्रा प्रदायको ३३ दशमलव ८ प्रतिशत छ ।
समीक्षा अवधीमा विस्तृत मुद्राप्रदाय ६ दशमलव ६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११ दशमलव ४ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६ दशमलव २ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको छ ।
