बढ्यो डेङ्गु सङ्क्रमण

२८,जेठ काठमाडौं । पछिल्लौ कृही समययता बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मङ्गलबारसम्म एक हजार २८१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

महाशाखाका निर्देशक डा। चन्द्रभाल झाले यो वर्ष डेङ्गुको सङ्क्रमण ७२ जिल्लामा फैलिसकेको जानकारी दिँदै सबैभन्दा बढी डेङ्गुको पुष्टि काठमाडौँमा भएको बताउनुभयो । झाका अनुसार मनाङ, रसुवा, डोल्पा, हुम्ला र महोत्तरी जिल्लामा डेङ्गु पुष्टि भएको छैन । प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा डेङ्गु पुष्टि भएको छ । उनका अनुसार बागमतीमा ३४३, कोशीमा २४६, गण्डकी २३४, लुम्बिनी २०७, सुदूरपश्चिम १७४ र कर्णाली प्रदेशमा ६२ जनामा डेङ्गु पुष्टि भएको छ । सबैभन्दा कम सङ्क्रमण मधेश प्रदेशमा छ । मधेशमा १७ जनामा डेङ्गु पुष्टि भएको छ ।

मधेशमा गर्मी हुने भएकाले सबैभन्दा बढी डेङ्गु सङ्क्रमण मधेशमा हुनुपर्नेमा सबैभन्दा कम सङ्ख्या पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. झाले मधेश प्रदेशको रिपोर्ट कम भएर डेङ्गुको सङ्क्रमण हुने सङ्ख्या कम भएको हुन सक्ने जानकारी दिनुभयो । उनले जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौँमा १३६ जनालाई पुष्टि भएको छ । यस्तै, कास्की ९२, सुनसरी ८७, झापा ७६, पाल्पा ७६, रुपन्देही ४९, कञ्चनपुर ३७, दाङ ३२ र भक्तपुरमा ३० जनामा डेङ्गु पुष्टि भएको छ । डा। झाले गत वर्षभन्दा यो वर्ष डेङ्गु सङ्क्रमण कम पुष्टि भएको जानकारी दिए । उहाँले कात्तिकसम्म डेङ्गु सङ्क्रमण हुने भन्दै सतर्कता अपनाउन सुझाव दिए ।

डेङ्गु नियन्त्रणका लागि स्थानीय निकायमा आठ करोड बजेट छुट्याइएको छ । डा. झाले महाशाखाले डेङ्गुबाट बँच्नका लागि सचेतना कार्यक्रम, लामखुट्टेको लार्भा नष्ट गर्ने कामदेखि निगरानी बढाउने काम भइरहेको बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले सरकारले डेङ्गु नियन्त्रणलाई प्राथमिकता दिएको बताए । उनले डेङ्गु नियन्त्रण गर्न घर घरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने जानकारी दिँदै हरेक मानिसका घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएको हुनाले पहिले घरबाट लार्भा नष्ट गर्नुपर्नेमा जोड दिए । वर्षाको मौसममा डेङ्गुको सङ्क्रमण फैलन सक्ने सम्भावना प्रबल रहेको भन्दै उहाँले डेङ्गु नियन्त्रण गर्न पहिले आफ्नो घरबाटै सुरुवात गर्नुपर्ने बताउनुभयो । पोथी जातको लामखुट्टेले टोकेपछि अप्रत्याशित ज्वरो आउने, शरीरमा रगतको मात्रा कमी हुने जस्ता लक्षण देखा पर्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले मानिसका घरमा रहेको सफा पानी, गमला, टायर राख्ने ठाउँ, एयर कन्डिसन जस्ता स्थानमा एडिस प्रजातिको लामखुट्टे बस्ने भएकाले सर्वसाधारणले यस्ता ठाउँमा लामखुट्टेप्रति सचेत रहनुपर्ने बताए । उनले लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गर्नका लागि ‘खोज तथा नष्ट गर’ कार्यक्रम सुरु गरिएको जानकारी दिएका छन् । उनले पोथी लामखुट्टेले सफा पानी जमेको स्थानमा, वर्षाको पानी जम्ने टिनका डब्बा, रङका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मटितेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्ङ्याकीमा फुल पार्ने जानकारी दिँदै डेङ्गु सारेको चारदेखि १० दिनमा लक्षण देखा पर्न थाल्ने बताएका हुन् ।