एम्बुलेन्समै महिलामाथि बलात्कार,चालकसहित २ जना पक्राउ

११ साउन,काठमाडौं ।
बिहार । बिहारको गयामा होमगार्ड भर्ती प्रक्रियामा सहभागी एक महिलामाथि एम्बुलेन्सभित्रै बलात्कार भएको छ। घटना सार्वजनिक भएपछि प्रहरीले एम्बुलेन्सका चालक र थप एक जनालाई नियन्त्रणमा लिएको छ।

गयाका सहर प्रहरी सुपरिटेन्डेन्ट रामानन्द कुमार कौशलका अनुसार बोधगयास्थित बीएमपी–१७ को परिसरमा होमगार्ड भर्तीका लागि दौड परीक्षण हुँदै थियो।

दौडका क्रममा एक महिला उम्मेदवार बेहोस भएपछि उनलाई तत्कालै एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो।

‘महिला उम्मेदवार बेहोस भएपछि त्यहाँ उपस्थित प्रहरी र अन्य व्यक्तिहरूको सहयोगमा उनलाई अस्पताल लैजाने व्यवस्था गरियो,’ एसपी कौशलले भने। तर अस्पताल पुगेपछि दिउँसो करिब २ः३० बजे ती महिलाले एम्बुलेन्समा बलात्कार र दुर्व्यवहार भएको बताइन्।

दुवै शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ तर प्रहरीले आरोपितहरुबाट सन्तोषजनक जवाफ नपाएको एसपी कौशलले उल्लेख गरेका छन्।

पीडित महिलाले दुवै आरोपितलाई स्पष्ट पहिचान गरेको बताएकी छन् ।

 घटनाले बिहारको राजनीतिक वृत्तमा  तरङ्ग ल्याएको छ।

राजद नेता तथा पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवले सामाजिक सञ्जालमार्फत सरकारमाथि आक्रोश व्यक्त गरेका छन्। उनले लेखेका छन् —
‘के तपाईं यसलाई बिहारमा राक्षसी शासन भन्नुहुन्छ ?’ भन्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नीतिश कुमारलाई ट्याग गर्दै प्रश्न गरेका छन्।