कर्मचारीलाई प्रधानमन्त्रीको सन्देश : नागरिकलाई झन्झट र दुःख दिने कार्य सह्य हुँदैन,काम पन्छाउने प्रवृत्तिमा सुधार ल्याउनुहोस्

२२ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीले नागरिकलाई झन्झट र दुःख दिने कार्य गर्दै आएको पाइएको भन्दै यस प्रकारको कार्य अब सह्य नहुने बताएका छन् ।

निजामति दिवसको अवसरमा शुभकामना दिंदै उनले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको समेत स्पष्ट पारे ।साथै उनले बदलिंदो विश्व परिवेश,नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्नु पर्ने आवश्यकता टड्कारो रहेको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो । सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ।बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई रुपान्तरण गर्न जरुरी छ।’

‘सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक छ।नागरिक सेवा खोज्दै होइन,सेवाले नागरिक खोज्ने बेला आएको छ ।टेबल र कुर्चीबाट मात्र सेवा होइन, प्रविधिबाट विस्तार हुनुपर्ने बेला आएको छ।’

पछिल्लो दिनमा निजामती सेवाका आदर्श,मूल्य मान्यता,आचरण,जिम्मेवारी र जवाफदेहिताबाट विचलित देखिएकाले यस सेवाप्रति नागरिकको जनविश्वास घट्दै गुनासो सुनिएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दुस्ख दिने कार्य सरकारलाई सहय नहुने जिकिर समेत गरेका छन् ।

सुशासन,पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पण भाव मार्फत राज्यले नागरिकको विश्वास जित्न सक्छ भन्ने कुरा सबैले गहिरो रूपमा आत्मसात गर्न आवश्यक रहेकोमा उनले जोड दिएका छन्।

‘समृद्ध नेपाल,सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा एवं राष्ट्रिय गन्तव्य हासिल गर्ने साझा यात्रामा कर्मचारीहरुको प्रतिबद्धता र सिर्जनशीलता अपरिहार्य रहेको पनि उनको भनाई छ।

नयाँ पुस्ताको आकाङ्क्षा, प्रविधिमा आधारित सेवा प्रवाह, अन्तर्राष्ट्रिय स्तरणा बढ्दो प्रतिस्पर्धा र दिगो आर्थिक–सामाजिक रुपान्तरण तर्फको यात्रामा निजामती सेवाको योगदानलाई अभ्झ सबल र गतिशील बनाउनै पर्नेमा उनको जोड छ ।

व्यावसायिक,पारदर्शी,नवप्रवर्तनशील र नागरिकमैत्री प्रशासन निर्माणका लागि सम्पूर्ण निजामती राष्ट्र सेवकहरुले आ–आफ्नो कर्तव्यलाई जिम्मेवार ढङ्गले निर्वाह गर्नेमा उनले विश्वास पनि व्यक्त गरेका छन्।