डा.नवराज लम्सालको महाकाव्य कल्प सार्वजनिक

सीता पौडेल(अर्चना)

२ भदौं,काठमाडौं।डा.नवराज लम्सालको महाकाव्य ‘कल्प’ सार्वजनिक भएको छ।

शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित समारोहका बीच उनको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक गरिएको हो।

समारोहमा पूर्वमन्त्री तथा सांसदहरू गगन थापा,विद्या भट्टराई,सुदन किराँती,सांसद मनिष झा,समालोचक राजकुमार बानियाँ र लेखक स्वयंले संयुक्त रूपमा कल्पको सार्वजनिक गरेका थिए।

रेडियो नेपालको जागिर छोडेर लेखनमा क्रियाशील लम्साल आफैंले यस महाकाव्यलाई आफ्नो मस्तिष्क निचोरिएको बताएका छन्।समारोहमा उनले कल्प लेख्दाको अनुभव र उत्प्रेरणा साझा गरे।

विमोचन समारोहमा कांग्रेसका महामन्त्री समेत रहेका पूर्वमन्त्री तथा सांसद गगन थापाले नवराज लम्सालको प्रतिष्पर्धा नवराज लम्सालसँग मात्र भएको बताए।

साथै उनले कल्पका विषयमा नेपाली कांग्रेसको पार्टी कार्यालयमा थप बहस र छलफल चलाइने प्रतिबद्धता व्यक्त गरे।

पूर्वमन्त्री तथा सांसद विद्या भट्टराईले कल्प पढेपछि कवि डा. लम्सालको वैचारिक धरातल निकै गहिरो भएको र कल्पले जीवनको त्याग,संघर्षलगायत सम्पुर्ण कथा बोकेको जिकिर गरिन्।उनले कल्पमा प्रकृति र मानवीय सम्बन्धका बारेमा समेत उजागर गरिएको स्पष्ट पारिन्।

कल्पमा कविले चिन्ता,चिन्तन र चैतन्य गरि ३ खण्डमा विभाजन गरि हरेक विषयलाई निकै मार्मिक र गहिरो तरिकाले विश्लेषण गरि कविको फराकिलो सोच र गहन चिन्तनको उजागर गरिनुका साथै हरेक समस्या समाधानमा समेत चासो देखाएको र सुझाएको बताइन्।

कार्यक्रमका पूर्वमन्त्री तथा सांसद सुदन किरातीले भलम्साल सिमान्तकृत जाति,आदिवासी महिला र मधेशीको साँस्कृतिक विम्व र पहिचानका गहिरो लेखक भएको जिकिर गरे।

सांसद मनिष झाले लम्साल देशको सांस्कृतिक चेतना र बहुलतालाई सम्मान गर्ने कवि भएको र उनको लेखनमा सांस्कृतिक झल्को र देशको अनुहार भेटिने बताए साथै उनले कविले मधेशलाई जुरुक्क उठाएर जनताको बोलीलाई कविताको भाषा दिएर देशलाई जोडेको बताए।

कल्पको समीक्षा गर्दै समालोचक राजकुमार बानियाँले निकै सरल र सरस भाषाशैलीमा लेखिएको कल्प पाठकले सजिलै पढ्न र बुझन सक्ने हुँदा नेपाली भाषाले न्याय पाएको बताए।

डा.लम्सालका चार महाकाव्य,तीन कविता संग्रह र दुई गीत संग्रहसहित नौ पुस्तक प्रकाशित छन्।उनका यसअघि कर्ण,धरा र अग्नि तीन महाकाव्य प्रकाशित भइसकेका छन्।

उनको अग्नि महाकाव्यले २०७८ सालमा मदन पुरस्कार जित्न सफल भएको थियो ।कल्पलाई शिखा बुक्सद्दरा प्रकाशनमा ल्याइएको छ।