आन्दोलनरत जेनजीलाई वार्तामा आउन प्रधानसेनापतिको आह्वान,कुतत्वहरु घुसेर गरेको लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने जेनजीको स्पष्टोक्ति,बर्ताको तयारी

२५ भदौ,काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत जेनजी पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्।

सिग्देलले आज सम्बोधन गर्दै आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। यस्तै उनले दिवंगत आत्माको चीर शान्तिको कामना पनि गरेका छन् ।

प्रधानसेनापतिले शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताए।

उनले वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन अनुरोध गरेका हुन्।

 जेनजीले जारी गरिएको एक विज्ञप्तिअनुसार  आफ्नो आन्दोलनको नाममा हुने लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको हो ।

विज्ञप्तिमा भनिएको छ,’हामी अहिले हाम्रो उद्देश्य नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ। तर, प्राप्त सूचनाअनुसार अझै पनि केही तत्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन् भन्ने बुझिन आएको छ।’ 

जेनजीले आफ्नो स्पष्ट नीति रहेको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनु र लुटपाट गर्नु आफ्नो आन्दोलनको हिस्सा कहिल्यै नहुने जनाएको छ ।