
३१ भदौ,काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएका ३९ जनाको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पोस्टमार्टम गर्दाको रिपोर्टअनुसार ३६ जनाको कम्मरभन्दा माथिको भागमा गोली लागेर मृत्यु भएको छ ।
फोरेन्सिक विभागका प्रमुख ड. गोपाल चौधरीले सबै मृतकको कम्मरमाथि बुलेट भेटिएको बताए ।
त्यसमा पनि अधिकांशको टाउको र छातीमा गोली लागेको उनले जानकारी दिए।हरेक सवमा एकएक वटा बुलेट देखिएको डा.चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार तीनजनाको भने चोटपटकका कारण अत्यधिक रक्तस्राव र करङ भाँचिएको कारणले मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
पोस्टमार्टम रिपोर्टको जानकारी दिँदै उनले भने, ‘कतिपयको टाउको र मुटु नै छेडिएर गोली बाहिर निस्केको थियो भने कतिपयको शरीरका विभिन्न भागमा गोली बसेका थिए ।’
टाउको र छातीमा गोली लागेपछि मान्छेको तत्काल नै मृत्यु हुने उनको भनाइ छ ।
हालसम्म फोरेन्सिक विभागमा आइपुगेका ४६ वटा शवमध्ये ७ वटा पूर्ण जलेको अवस्थामा छन् । तिनीहरुकोको पोस्टमार्टम हुन बाँकी छ ।
सोमबार र मंगलबारको आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भइसकेको छ ।
