धादिङको जवाङ खोलामा रोकिएन सुक्खा पहिरो,मुग्लिन–काठमाडौं बन्द सडक आज खुल्ने सम्भावना न्युन

७ असोज,काठमाडौं ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो ।तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन कठिनाई भएको छ ।

रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु बाटोमा अलपत्र परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले भनेको छ ।

मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए ।यसले दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।

नागढुंगा– मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने बताए । उनका अनुसार आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम छ ।

राति सुरुमा सानो पहिरो खसेको थियो । त्यसलाई पन्छाएर एकतर्फी बाटो खुलाइएको थियो । तर पछि फेरि ठूलो पहिरो खसेपछि हाल सडक दुईतर्फी नै बन्द छ ।

अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउने काम गर्न नसकिएको उनले बताए ।पहिरो खस्न रोकिएपछि मात्र पन्छाउने काम हुने प्रहरीले जनाएको छ ।

प्रतिकात्मक फोटो