
२० असोज,काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अबको ठयाक्कै एक महिना अर्थात आगामी २० र २१ कात्तिकमा सञ्चालन गर्ने भएको छ ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण २ र ३ कात्तिक तथा दोस्रो चरण ६ र ७ वैशाख गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको भए तापनि यस वर्ष तिहार परेका कारण पहिलो चरणको कार्यक्रम २० र २१ कात्तिकमा तय गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य छ ।
त्यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई पनि खोप दिइने महाशाखाले जनाएको छ ।
सो दिन आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।
