राष्ट्रिय मानव अधिकार आयोगको आग्रह : शान्ति सुरक्षा बलियो बनाउँ र संयमित रहौं

२२ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई शान्ति सुरक्षा बलियो बनाउन र सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले हिंसात्मक गतिविधि र घृणायुक्त अभिव्यक्ति नदिन समेत आग्रह गरेको हो ।‘हिंसात्मक गतिविधि,अरुप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण समेत धुमिल हुने हुँदा यसबाट शान्तिसुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल असर पर्न जान्छ,’ आयोगले भनेको छ ।

‘सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, विधिको शासन कायम गर्नु, सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका सम्बन्धित निकायको दायित्व र त्यस्तो प्रक्रियालाई सघाउनु आमनागरिकको समेत कर्तव्य हुन जान्छ ।’ आयोगद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आयोग भन्छ —‘विकसित परिस्थितिमा शान्तिसुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदमहरू चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।’

विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएका प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आयोग राजनीतिक दल र समूहलाई आयोगले आग्रह गरेको छ ।