१०.५३ प्रतिशत लाभांश वितरण गर्दै गरिमा विकास बैंक

२८ असोज,काठमाडौंं। गरिमा विकास बैंक लिमिटेडले कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

आर्थिक वर्ष २०८१।०८२ को अन्त्यमा कायम सञ्चित मुनाफाबाट शेयरधनीलाई उक्त लाभांश दिने सञ्चालक समितिको ३३४औँ बैठकले प्रस्ताव गरेको हो।

चुक्ता पुँजीको ६ र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति हुनासाथ बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएसँगै उक्त लाभांश वितरण गरिनेछ।

हाल ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ चुक्ता पुँजी रहेकोमा नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई आउन्नाइसौँ वार्षिक साधारणसभाबाट पारित भएपछि बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ कायम हुनेछ।

लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।