
२९ असोज,पोखरा । केही दिनअघि पोखरा लेखसाइडमा बुलेट मोटरसाइकल पड्काउँदै कुद्ने,आतंक मच्चाउने र व्यवसायी कुट्ने गरेको पाइएपछि कास्की प्रहरीले अपरेसन ३६५ थालेको छ ।
यस्ता घटना हुन थालेपछि होटल संघलगायत पोखराका पर्यटन व्यवसायीका संस्था र व्यवसायीहरूले पर्यटकीय क्षेत्रमा शान्ति सुरक्षाको वातावरण खल्बलिँदै गएको चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि प्रहरीलाई अनुरोध गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा २४ भदौमा पोखरामा भएका सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड तथा लुटपाट र आगजनीमा समेत स्वरूप परिवर्तन गरिएका बुलेट,क्रस फायर,पल्सर, भीआरजस्ता मोटरसाइकल प्रयोग भएको बताइएको छ।
नेतादेखि व्यवसायीसम्मको घर जलाउने,लुटपाट गर्नेदेखि प्रहरीको हतियार खोसेर गायबसमेत भएकाले प्रहरीले यस्ता मोटरसाइकलमाथि निगरानी गरिरहेको थियो ।नक्कली पेस्तोल देखाउँदै चोरी गर्ने एकजना सोमबार मात्रै पनि पक्राउ परेका थिए । पोखरामा चोरीका घटनामा पनि यस्ता मोटरसाइकल प्रयोग भएको पाइएको छ ।
स्वरूप परिवर्तन गरेका मोटरसाइकलबाट शहरमा आतंक सिर्जना भएको गुनासोपछि कास्की प्रहरीले अपरेसन ३६५ सञ्चालन गरेको छ ।चोरी, लुटपाटका घटना जेनजी विद्रोहपछि झनै बढिरहेको गुनासो नागरिकले गरिरहेका छन् ।
प्रहरीको अपरेसनमा सडकमा कुदिरहेका मोटरसाइकल मात्रै होइन, स्वरूप परिवर्तन गर्ने वर्कसपहरूसमेत परेका छन् ।प्रहरीले अपरेसन ३६५ का लागि सादा पोसाकका प्रहरीसमेत परिचालन गरेको छ भने चोकचोकमा टोली खटाएर चेकजाँच गरिरहेको छ ।
भागेका चालकलाई पछ्याउँदै प्रहरीले घरघर पुगेर नियन्त्रणमा लिएको छ ।अनुसन्धानका क्रममा वर्कसपहरूमा भाडामा साइलेन्सर पाइप परिवर्तन गर्न पाइने, स्वरूप परिर्तन गरेर विभिन्न ठाउँमा घुमेर पोखरा फर्किने र फेरि यहाँबाट पुरानै पाइप हालेर जाने गरेको पनि भेटिएको छ ।
उनीहरूमध्ये केही काठमाडौंलगायत विभिन्न ठाउँबाट पोखरा, मुस्ताङ घुम्न आएकाहरू समेत रहेको प्रहरीको भनाई छ।
काठमाडौं बाहिरबाट पोखरा आएर यहीँको वर्कसपमा स्वरूप परिवर्तन गरी मुस्ताङलगायतका जिल्लामा जाने गरेका युवाहरूसमेत नियन्त्रणमा परेका छन् ।नियन्त्रणमा लिइएका व्यक्तिलाई अभद्र व्यवहार तथा प्रदेश यातायात ऐनअनुसार कारबाही र जरिवाना गराइने प्रहरीले जनाएको छ ।
हाल कास्कीको प्रहरी प्रमुखमा नवीन कार्की रहेका छन् ।
