डुम्रे–बेँसीशहर सडक तीन दिन बन्द,उदीपुर ब्यारेकको क्षेत्रबाट सवारी साधन डाइभर्ट

१२ माघ, लमजुङ । लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीशहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ ।

यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ उदीपुर सडकखण्ड कालोपत्रे गर्न आज सोमबार बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार केही वर्षअघि गएको पहिरोले भत्काएको सडक कालोपत्रे गर्न डुम्रे –बेँसीशहर–चामे सडक कार्यालयले अनुरोध गरेअनुसार प्रशासनले एक सूचना जारी गरेर सडक बन्द गरेको हो ।

नेपाली सेनाको चण्डीप्रसाद गण उदीपुर ब्यारेकको क्षेत्रबाट सवारी साधन डाइभर्ट गराई आवगमन भइरहेको उनको भनाइ छ ।यस सडक हुँदै काठमाडौँ,पोखरा,चितवन लगायतको जिल्लामा सवारीसाधन सञ्चालन हुने गरेको छ ।

सो स्थानबाट बेँसीशहर र साथै हिमाली जिल्ला मनाङको स्थानीयसमेत यही सडक हुँदै आवतजावत गर्ने गर्दछन् ।

यहाँ पहिरो रोकथाम कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।