काठमाडौंमा रोटरी हाट बजार सफलतापूर्वक सम्पन्न

१२ माघ,काठमाडौं ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान )अन्तर्गतका १४ वटा रोटरी क्लबद्वरा काठमाडौंमा आयोजित ‘रोटरी हाट बजार’ सफलतापूर्वक सम्पन्न भएको छ।

यहि माघ १० र ११ गते काठमाडौंको थापाथली स्थित रोटरी क्लब अफ काठमाडौंको कार्यालय परिसरमा दुई दिनसम्म सञ्चालन भई आइतबार सम्पन्न उक्त हाट बजारमा स्थानीय तथा घरेलु उद्यमीहरूले उत्पादन गरेका हस्तकला,खाद्य परिकार,फेसन सामग्री र लत्ता कपडाहरु तथा सिर्जनात्मक सामाग्रीहरुको प्रदर्शनी तथा बिक्री वितरण  गरिएको थियो।

साथै उक्त हाट बजारमा काठमाडौंको सामाखुशी स्थित कान्तीपुर डेन्टल अस्पतालसँगको प्राविधिक सहयोगमा निःशुल्क दन्त परीक्षण शिविर पनि संचालन गरिएको थियो ।

यसका साथै मनोरञ्जनका लागि सांगितिक कार्यक्रम र विभिन्न किसिमका इन्डोर गेमहरु पनि हाट बजारमा राखीएको रोटरी क्लब अफ काठमाडौंका यस वर्षका प्रेसिडेन्ट राजेन्द्र गौतमले जानकारी दिए ।

प्रेसिडेन्ट गौतमका अनुसार सो हाट बजारमा युवा तथा बालबालिका लक्षित चित्रकला प्रतियोगिता,सार्वजनिक वक्तृत्व कला  प्रतियोगिता र प्रशिक्षण आयोजना गरिनुका साथै दर्शकहरूका लागि म्याजिक शो र फेस पेन्टिङजस्ता कार्यक्रमहरू पनि समावेस गरिएको थियो ।

कार्यक्रमको घरेलु तथा साना उद्योग,उद्यमशीलताको विकास तथा प्रबद्र्धन,महिला सशक्तिकरण,स्थानीय उत्पादनको प्रबद्र्धन, स्थानीय कला–संस्कृतिको जर्गेना र विकास लगायत रोटरीलाई समुदायसँग जोड्नु लगायतका उद्देश्यहरू रहेको आयोजकहरुको भनाई छ ।

नेपालमा रोटरीको इतिहासमै पहिलो पटक सम्बन्धित सबै सरोकारवालालाई एकै ठाउँमा उभ्याउने गरि आयोजना गरिएको यस प्रकारको कार्यक्रम निकै प्रभावकारी भएको पनि आयोजकहरुको दाबी छ ।

‘निजी स्वार्थभन्दा माथी सेवा’ भन्ने रोटरीको मूल मन्त्रलाई आत्मसाथ गर्दै आएका नेपालका विभिन्न रोटरी क्लबहरु मध्येका रोटरी क्लब अफ(आरसी) काठमाडौं,आरसी काठमाडौं डाउन टाउन,आरसी काठमाडौं मेट्रो,आरसी काठमाडौं सर्कल,आरसी काठमाडौं हाइट,आरसी गोङ्गबु ,आरसी तीनकुने,आरसी मातृभूमि बालुवाटार,आरसी पाटन,आरसी बागमती काठमाडौं,आरसी बालाजु,आरसी मध्यपुर,आरसी राजधानी र आरसी हेटौँडाको संयुक्त आयोजनामा उक्त हाटबजार संचालन गरिएको थियो।

उक्त रोटरी हाट बजारमा ५ हजार २ सय जनाभन्दा बढीले अवलोकन गरेको आयोजक मध्येको क्लब रोटरी क्लब अफ बागमतीका प्रेसिडेन्ट सरोज बज्राचार्यले जानकारी दिए ।

रोटरीले पोलियो उन्मूलन लगायत स्वास्थ्य सम्बन्धी परियोजना, स्वच्छ खानेपानी,मातृ तथा शिशु स्वास्थ्य, शिक्षा र साक्षरता,स्वच्छ र सफा वातावरण लगायत सामाजीक तथा मानवीय विकासका विभिन सात वटा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।

सन् १९०५ मा अमेरिकाबाट सुरु भएको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपालमा सन् १९५८ देखि औपचारिक रुपमा सुरु भएको हो ।

रोटरी सामाजीक तथा मानवीय सेवामा समर्पित विभिन्न पेशा व्यवसायमा पोख्त व्यक्तिहरु आबद्ध  एक अग्रणी गैरनाफामूलक  अग्रणी सामाजिक संस्था भनेर विश्वभर चिनिन्छ ।