टी–२० विश्वकपः नेपाल इटालीसँग १० विकेटले पराजित

२९ माघ,काठमाडौं । टी–२० विश्वकप अन्तर्गत भएको खेलमा नेपालले दोस्रो हार ब्यहोरेको छ ।आज भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा विकेट नगुमाई भेट्टाएको थियो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरेका थिए । जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहेका छन् ।

त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भएको थियो ।

आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् ।

बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिएका थिए ।

यसअघिको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले मात्रै पराजित भएको थियो ।यसलाई सबैले सम्मानजनक खेलका रुपमा लिएका थिए ।

यस हारबाट नेपाली खेलाडीले अर्का जितका लागि अझै राम्रो तयारी गर्नेछन् ।

नेपाली खेलाडीको मनोबल उच्च राख्न समेत सम्बन्धित निकायहरुले थप तदरुकता देखाउनु जरुरी छ ।