
२१ फागुन, काठमाडौं । आज फागुन २१ गते। आज प्रतिनिधिसभा सदस्य छनौट गर्ने दिन हो ।आकस्मिक रुपमा हुन लागेको यो निर्वाचनलाई पहिलापहिलाका निर्वाचनभन्दा विशेष मानिएको छ ।
आज बिहिबार नागरिकहरू यसलाई उत्सवको रुपमा लिएर मतदानमा सहभागी हुँदैछन् ।
जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको सो निर्वाचन सत्ता परिवर्तनसँग जोडिएको छ। पुरानो सत्ताबाट नयाँ सत्ताले सरकार गठन गर्ने अवसरका रुपमा यो निर्वाचनलाई हेरिएको छ ।
गत भदौको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य पारेर २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।
बिहीबारको निर्वाचनपछि जनताले चयन गरेको सरकार बन्ने छ । गत २७ भदौमा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तय गरेका हुन् । यसलाई निर्वाचन आयोगले ‘संवैधानिक दायित्व’ भनेको छ ।
स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील रहको आयोगले जनाएको छ । यसका निम्ति आवश्यक सबै तयारी पूरा भएको आयोगको भनाइ छ ।
निर्वाचनको पूर्वसन्ध्यामा विशेष अपिल जारी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भनेका छन्, ‘निर्वाचन केवल आफ्ना प्रतिनिधि छानेर सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो । लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो ।’
निर्वाचन नागरिकले आफ्ना प्रतिनिधि छानेर सरकार निर्माण गर्ने र शासन सञ्चालनमा सहभागी हुने कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा प्रत्यक्ष संलग्न हुने अवसर हो ।
भयरहित निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
३ हजार ६८० वटा अति संवेदनशील मतदान केन्द्र छन् । मदतान केन्द्रलाई ४ हजार ४४२ वटा संवेदनशील मतदान केन्द्र र २ हजार ८४५ सामान्य मतदान केन्द्र भनेर वर्गीकरण गरिएको छ ।१४३ अस्थायी मतदानस्थल तय गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् ।
निर्वाचनमा दुई लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन् ।
निर्वाचन आयोगको विश्लेषणअनुसार सुरक्षा व्यवस्था चुस्त छ । विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको छ ।
जसअन्तर्गत मतदान स्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिनेछ भने त्यसपछिको बीचको घेरामा सशस्त्र प्रहरी बल रहनेछ । मतदान स्थलको भित्री घेराको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ ।
