
२ चैत,काठमाडौं ।सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग गर्दै काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ।
काठमाडौंको माइतीघर मण्डलामा उनको न्याय माग गर्दै दलित जेनजी अलाइन्सले प्रदर्शन गरेको हो । इनिशालाई न्याय दे भन्दै विद्यालय ड्रेसमै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा ‘इनिशा विकलाई न्याय दे,बलात्कारीलाई फाँसी दे,जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ ।
प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो ।
र्यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी,शिक्षक,मानवअधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो ।
सहभागीहरूले ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर’, ‘हत्या हिंसा बन्द गर’, र ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।उनीहरूले यस्ता जघन्य अपराधबाट पीडित परिवारलाई अविलम्ब न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशाको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले फरेन्सिक रिपोर्टको प्रतिक्षा गरिरहेको छ।
