
३ चैत, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।
ललितपुरको एक होटलमा सुरु भएको कार्यक्रमलाई उपसभापतिद्वय डीपी अर्याल र डा.स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रमको उदघाटन गरेका थिए।
संसदीय अभ्यास, विधायिकी प्रक्रिया,नीति निर्माण,संसदीय समितिहरूको भूमिका, बजेत तथा कानुन निर्माण प्रक्रिया,साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ नवनिर्वाचित सांसहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।
कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद् सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड,नीति विश्लेषण,जनप्रतिनिधिको आचरण,सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प्रदान गरिने रास्वपाको भनाइ छ ।
साथै पार्टीको नीतिगत प्राथमिकता,रणनीतिक कार्यदिशा तथा संसद् भित्र र बाहिर प्रभावकारी सम्नवयका उपायहरूबारे साझा धारणा समेत विकास गरिने तयारी छ ।
दुई दिनसम्म चल्ने सो कार्यक्रमको कार्य तालिका अनुसार पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले देशको वर्तमान अवस्था,पार्टीका प्रतिबद्धता,जिम्मेवारी तथा सांसदको भूमिकाबारे प्रशिक्षण दिनेछन् ।
यसैगरी नेपाल सरकारका पूर्वसचिव सुरेश अधिकारीले संसद्को संरचना तथा कार्याप्रणाली, सांसदका अधिकार र जिम्मेवारी,पूर्वकानुन सचिव तोयानाथ अधिकारीले संघीय संसद्मा कानुन निर्माण प्रक्रियामा सांसदको भूमिकाका बारेमा प्रशिक्षण दिने बताइएको छ।
अध्येता एवं आईटी विज्ञ डा. दोभान राईले कृत्रिम बुद्धिमता र एल्गोरिदम र लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा प्रभाव,पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया र योजना तथा बजेट निर्माण लगायतबारे प्रशिक्षण दिनेछन् ।
रास्वपाले प्रत्यक्षमा १२५ सिट र समानुपातिमार्फत ५७ गरि १८२ सिट जितेको छ ।
हेर्नुहोस् कार्यतालिका



