कम गुणस्तरको दूध बेच्ने सीताराम गोकुल मिल्क्सलाई कारबाही, दूध बिक्रीमा रोक

३ चैत, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सीताराम गोकुल मिल्क्सले उत्पादन गरेको प्रशोधित दूधमा चिल्लो पदार्थ (फ्याट)को मात्रा तोकिएको मापदण्डभन्दा कम पाइएपछि बिक्री वितरणमा रोक लगाएको छ ।

कीर्तिपुरमा रहेको उक्त डेरी उद्योगले प्रशोधित दूधमा हुनुपर्ने अनिवार्य गुणस्तर कायम नगरेको पाइएकाले कारबाही गरिएको विभागले जानकारी दिएको हो ।

विभागले गरेको नियमित अनुगमनका क्रममा उक्त डेरीले उत्पादन गरेको प्रशोधित दूधको नमूना परीक्षण गर्दा चिल्लो पदार्थको मात्रा १.४ प्रतिशत मात्रै पाइएको थियो । सरकारले तोकेको न्यूनतम अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित दूधमा चिल्लो पदार्थको मात्रा ३.० प्रतिशत हुनुपर्दछ ।