रास्वपालाई चीनीयाँ सीसीपिको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

४ चैत, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपि) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक रुपमा बधाइ र शुभकामना व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै सीपीसीबाट शुभकामना पत्र प्राप्त भएको जानकारी गराएका छन् ।

सीसीपिले सन्देश पत्रमार्फत रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुसी व्यक्त गरेको र आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास दिएको पनि उल्लेख छ ।

पत्रमा चीन र नेपालबीचको राजनीतिक आपसी विश्वासलाई थप गहिरो बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने संकल्प दोहोर्‍याइएको छ,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ, ‘साथै, सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, उहाँहरूको नेतृत्वमा रास्वपाले नेपाल–चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरिएको छ ।’

सीसीपिले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ र द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सँगै काम गर्ने तत्परता देखाएको पनि विज्ञप्तिमा उल्लेख छ।

रास्वपाले नेपालको स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सधैं प्राथमिकतामा राख्ने विज्ञप्तिमा जनाएको छ ।

‘सीसीपि ले व्यक्त गरेको यस शुभेच्छा र ऐक्यबद्धताका लागि हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं,’ रास्वपाले भनेको छ ।