योगाभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण

४ चैत,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन पनि बिहान योगाभ्याससँगै सुरुवात भएको छ ।

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरु कार्यक्रममा सहभागी छन् ।उनीहरुलाई संसदीय अभ्यास,विधायिकी प्रक्रिया,नीति निर्माण,संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया,साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाका अनुसार कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था,संसद् सञ्चालन प्रणाली,विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड,नीति विश्लेषण,जनप्रतिनिधिको आचरण,सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प्रदान गरिने छ । साथै पार्टीको नीतिगत प्राथमिकता, रणनीतिक कार्यदिशा तथा संसद् भित्र र बाहिर प्रभावकारी सम्नवयका उपायहरूबारे साझा धारणा विकास गरिने छ।

आज कसले दिँदैछन् प्रशिक्षण ?

पूर्वनिर्धारित कार्यतालिका अनुसार आज पूर्वसचिव डा.तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया र योजना तथा बजेट निर्माणबारे प्रशिक्षण दिँदैछन्।उनको प्रस्तुति बिहान ९ बजेदेखि ९ः४५ बजेसम्म रहनेछ।

बिहान ९ः४५ बजेदेखि १०ः४५ बजेसम्म अर्का पूर्वसचिव प्रताप कुमार पाठकले ‘सुशासन र अवधारणा र अभ्यास’ सम्बन्धमा सिकाउने छन् ।

त्यसपछि महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले पार्टी र सांसदको सम्बन्ध र नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका,आचारसंहिता तथा न्यूनतम प्रतिबद्धताका विषयमा प्रस्तुति दिनेछन् ।

अनि सांसदहरुद्वारा एजेण्डा प्राथमिकता निर्धारण सम्बन्धमा समूह कार्य तथा प्रस्तुति रहनेछ ।

मध्याह्न १२ बजेपछि समापन सत्र सुरु हुनेछ । यस सत्रमा प्रतिभा रावल र मनिष झाले एजेण्डा प्राथमिकता निर्धारणको प्रस्तुति प्रस्तुत गर्न सहजीकरण गर्नेछन् ।

अभिमुखीकरण कार्यक्रममा सहभागीहरुको तर्फबाट धन्यवाद मन्तव्य जेनजी सांसदद्व प्रशान्त उप्रेती र खिमा विकले राख्नेछन् ।

अन्त्यमा साढे १२ बजेदेखि १ बजेको बीचतिर सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे मन्तव्य राख्ने छन् ।अभिमुखीकरण समापन गर्ने कार्यतालिका रहेको रास्वपाले जनाएको छ ।

दिउँसो १ बजेको खाजासँगै अभिमुखीकरण कार्यक्रम सम्पन्न हुने रास्वपाको पूर्वनिर्धारित कार्यतालिका छ ।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए ।