
४ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई जनताले सुम्पिएको जिम्मेवारीलाई हल्कारूपमा नलिन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् ।
नवनीर्वाचित सांसदहरूका लागि गरिएको संसदीय अभ्याससम्बन्धी २ दिने प्रशिक्षणलाई समापन गर्दै उनले अबको ५ वर्ष रास्वपाका लागि परीक्षाको घडी भएको स्पष्ट पारे ।
सम्बोधनका क्रममा लामिछानेले निम्न किसिमका विभिन्न विषयमा जोड दिए :-
१. जनता धेरै पर्खनेवाला छैनन्
सभापति लामिछाने पुराना राजनीतिक दलहरूलाई जनताले ३०–३५ वर्ष पर्खिएको भए पनि रास्वपालाई त्यति समय कुर्न तयार नरहेको बताए । ‘पुरानालाई ३५ वर्ष कुर्नुभयो, तर हामीलाई ३६ महिना, ३६ दिन पनि कुर्नुहुने छैन । यदि हामीले नतिजा दिन सकेनौं भने जनताले तुरुन्तै हिसाब खोज्नेछन् ।’
२. ‘राइट टु रिकल’ को व्यवस्था
रास्वपाले पार्टीभित्र अनुशासनका लागि विधानमा ‘राइट टु रिकल’ (सांसद फिर्ता बोलाउन सक्ने व्यवस्था) लाई कडाइका साथ लागू गर्ने पनि उनले स्पष्ट पारे ।सांसदहरूलाई अराजक नबन्न र पार्टीको नीति तथा नियमावलीभित्र रहेर काम उनले सचेत गराए ।
३. सरकारी अस्पतालको उपचार सेवामा जोड दिनु
सरकारी सेवाको गुणस्तर सुधार्न आफैँले सरकारी अस्पताल प्रयोग गर्नुपर्ने भन्दै उनले जनताको सेवा गर्ने कसम खाएर आएका जनप्रतिनिधिले आकस्मिक अवस्थाबाहेकका समयमा सरकारी अस्पतालमै उपचार गराउन समेत सांसदहरूलाई आग्रह गरे ।
४. क्षेत्रगत होइन,देश विकास
आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट सोहोर्ने प्रवृत्ति लक्षित गर्दै रविले आफ्नो निश्चित क्षेत्र हेरेर अरु कुनै क्षेत्रलाई रुवाउन नपाइने बताए । सिंगो देश विकास हुँदा मात्र सबै क्षेत्रको विकास हुने उनको भनाइ छ ।
५. बिचौलियाबाट टाढा रहनू
नेपाली राजनीतिमा लामो समयदेखि बिचौलियाको बिगबिगी रहेको भन्दै रविले कुनै पनि स्वार्थ समूह वा बिचौलियाको प्रभावमा नपर्न सांसदहरूलाई निर्देशन दिए । संसद छिर्नुअगाडि सहिदका आमाहरूको त्यागलाई सम्झिन उनको आग्रह छ । साथै उनले मन्त्री बन्नका लागि कुनै पनि ‘मिडिया ट्रायल’ वा बिचौलियाको सहारा नलिन पनि निर्देशन दिए ।
६. संयमित र जिम्मेवार बनौं
सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा हल्का टिप्पणी नगर्न र वैदेशिक सम्बन्धमा असर पर्ने अभिव्यक्ति नदिन उनले सांसदहरूलाई सचेत गराए । उनको भनाइ छ ‘तपाईं अब जिम्मेवार सांसद हो, तपाईंको बोलीले देशलाई दीर्घकालीन असर पार्न सक्छ ।’
७. समावेशिता र आगामी बाटो
पार्टीमा राई(लिम्बू लगायत कतिपय समुदायको प्रतिनिधित्व छुट्न गएको उनले स्वीकारेका छन् । आगामी दिनमा पार्टीलाई अझ बढी समावेशी बनाउने प्रतिबद्धता जनाए ।
८. पुराना दल र नेताको सम्मान
पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्याका कारण आजको दिन आएको भन्दै रविले इतिहास रच्नमा एउटा मान्छे वा एउटा पार्टीको मात्र हात नहुने बताएका छन् । उनीहरूले निम्त्याएका बेथितिप्रति प्रश्न गरेको तर योगदानलाई नजरअन्दाज गर्न नहुने पनि उनको तर्क छ ।
कुनै पनि राजनीतिक दल र विपक्षीप्रति कटाक्ष नगर्न उनले सांसदहरूलाई निर्देशन दिएका छन् ।
उनले भने,‘विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन । विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन । रास्वपालाई प्रायः अराजक छन्, समर्थकहरू असहिष्णु छन् भन्ने छवि बनेको छ । अब त्यसबाट बाहिर निस्कनुपर्छ ।’
सभापति लामिछानेले यो जित रास्वपाको मात्र नभई सिंगो देशको भएको र अबको ५ वर्षमा सुशासनको नयाँ मानक स्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गरका छन् ।
