स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन एकै पटक गर्नुपर्छ : रामप्रसाद भण्डारी

५ चैत,काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटकमा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

आज बिहीबार प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्दै उनले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकै पटक गर्दा खर्च कम हुने बताए।

भण्डारीले आगामी १४ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने र प्रदेश सभा निर्वाचन २०८४ मंसिरमा गर्नुपर्ने बताए ।यी दुई निर्वाचनलाई एउटै मितिमा सम्पन्न गर्नसके निर्वाचन मितव्ययी र प्रभावकारी हुने उनको तर्क छ ।

तर वर्तमान कानुनी संरचनाले संयुक्त निर्वाचनको व्यवस्था गर्न नसक्ने हुदा करिब १० वटा निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गरी एउटै निर्वाचन व्यवस्थापन ऐन ल्याउनुपर्ने आवश्यकता औंल्याए ।सो ऐनका लागि आयोगले मस्यौदा तयार गरी दुई वर्षअघि नै सरकारलाई पठाइसकेको पनि उनले जानकारी दिए।

गृह मन्त्रालयमा विचाराधीन अवस्थामा रहेको उक्त विधेयकलाई संसद्ले यथाशीघ्र छलफल गरी पारित गर्नुपर्ने उनको भनाइ छ ।साथै उनले निर्वाचन हुनुभन्दा कम्तीमा एक वर्षअघि ऐन–कानुन तयार गरिसक्नुपर्ने पनि बताए ।

उनले नवनिर्वाचित सांसदहरूलाई २३ र २४ भदौको जेनजी आन्दोलनले विथोलेको समाजलाई लयमा ल्याउने काम गर्न आग्रह गरे ।