अब डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स नकाटिने

२४ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी) का सेवामा व्यापक सुधारका काम सुरु भएको मन्त्रालयले जानकारी दिएको छ ।

सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि टेलिकम प्रयोगकर्ताको डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ । सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाइसी’ लागु गर्ने प्रक्रिया अघि बढेको छ।

उनका अनुसार अब प्रयोगकर्ताले लिएको डेटा प्याक ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त गर्नेछन् । यससँगै ‘पे–एज–यू–गोज विकल्प उपलब्ध हुनेछ।जसले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याक खरिद गर्नेबारे विकल्पसहित छनोटको सुविधा दिनेछ ।