अध्यागमन विभागले भन्यो- वैदेशिक रोजगारीमा जाँदा विमानस्थलमा थप कागजात पेस गर्नुपर्दैन

२८ चैत, काठमाडौं ।अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूले विमानस्थलमा अनावश्यक थप कागजात तथा बिल र रसीद पेश गर्न नपर्ने जनाएको छ।

विभागले शुक्रबार सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्ने क्रममा श्रमिकसँग अतिरिक्त कागजात मागिएको भन्ने विषय सार्वजनिक भएपछि विभागले स्पष्टीकरण दिएको हो।

सूचना अनुसार नेपाल सरकार,गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णय तथा प्रचलित अध्यागमन कानुनअनुसार वैध भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकको हवाई टिकट र सम्बन्धित देशको भिसा पर्याप्त हुने व्यवस्था छ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हकमा वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति र राहदानीजस्ता न्यूनतम आवश्यक कागजात भए पुग्ने विभागले जनाएको छ। यसबाहेक अध्यागमन कार्यालयमा थप कागजात वा बिल र रसीद पेश गर्न नपर्ने स्पष्ट पारिएको छ।

विभागले अनावश्यक कागजात माग्ने वा झन्झट सिर्जना गर्ने कार्य नगर्न पनि सम्बन्धित पक्षलाई आग्रह गरेको छ।