
सीता पौडेल(अर्चना) २८ चैत,काठमाडौं ।काठमाडौंको उत्तरी भेगस्थित टोखामा नयाँवर्षको शरुवातसँगै बिस्केट जात्रा शुरु हुँदैछ।
प्रत्येक वर्ष वैशाख १ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने ऐतिहासिक,धार्मिक र पुरातात्विक महत्व बोकेको उक्त जात्रा यो वर्ष पनि बैशाख १ गते मंगलबारदेखि ४ गते शुक्रबारसम्म हुँदैछ ।भने, वैशाख ५ गते बिहान ६ः३० बजे लिङ्गो ढाली जात्रा विर्सजन हुनेछ।
टोखा विस्केट जात्रा –२०८३ (ने.सं.११४६) मूल व्यवस्थापन समितिले शुक्रबार दिउँसो टोखा नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी अगामी वैशाख १ गतेदेखि ४ गतेसम्म विस्केट जात्रा मनाउन लागिएको जानकारी दिएको हो ।
सो पत्रकार सम्मेलनमा समितिका सह–संयोजक गणेशमान श्रेष्ठले जात्रालाई व्यवस्थित र मर्यादित बनाउन शान्तिसुरक्षा,स्वयम्सेवक,सवारीसाधन पार्किङ,बाजागाजा र रथजात्रा व्यवस्थापन लगायत जात्राको सम्पुर्णपक्षको व्यवस्थापनको लागि विभिन्न उपसमिति गठन गरेर काम शुरु गरिएको पनि जानकारी दिए ।
नेवार समुदायको बाहुल्य रहेको टोखाको सो जात्रा,तोखा बिस्का नखःको नामले परिचित छ। सो जात्रा सफल बनाउनको लागि तलेजुका मुल नायः हेमराज श्रेष्ठको संयोजकत्वमा १२३ जनाको जात्रा मुल व्यवस्थापन समिति र सो अन्तर्गतका उपसमितिहरुले जात्रा व्यवस्थापनको तयारीलाई तिब्र बनाइरहेको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्राचीन समयमा यहाँको बस्तीमा विभिन्न खराब शक्तिले सर्वसाधारण जनतालाई दुःख दिन थालेपछि उनीहरुलाई सुरक्षित बनाउन सो जात्राको प्रचलन शुरु गरिएको जनविश्वास रहिआएको पनि सहसंयोजक श्रेष्ठले जानकारी दिए ।जात्राको लागि श्रद्दालुभक्तजनहरु १ गते बिहान सबेरै शिवपुरीस्थित बागद्वार स्नान गर्न जाने र बागद्वारबाट सोही दिन राति चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिरमा दर्शन तथा त्यहाँको कुण्ड वा सिद्दिपोखरीमा स्नान गर्न आउने प्रचलन रहेको छ ।
सपनतीर्थ मन्दिर परिसरमा गौमुखी र बहुमुखी खोला थुनेर निर्माण गरिएको सो सिद्धपोखरीमा स्नान गरि स्वेत गणेश स्नान गरेमा विभिन्न रोगव्याधी तथा महारोग समेत निको हुने,सन्तान प्राप्ती हुने,पुत्रलाभ हुने जनविश्वास रहिआएको छ ।अघिल्लो दिन वा मसान्तको दिन साँझ सपनविनायकको रथ,चण्डेश्वरीको रथ र मसानकालीको रथ ‘जाली द्यो’ का रूपमा बाजागाजा सहित जात्रा गरी इन्द्रायणी दाफा खलःले मूल नाइके बहाल गरी रथ आ–आफ्नो मन्दिरमा लैजाने चलन छ ।
नयाँ वर्षकै दिन साँझ ६ बजे आआफ्नो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा,चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइने पूजातालिका रहेको पनि समितिले जनाएको छ ।
वैशाख २ गते बिहान तीन वटै रथलाई गाउँ परिक्रमा गराएर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर ११ बजे थलागः टोलमा लस्करै बिसाउने प्रचलन छ ।
सोही दिन अपराह्न ३ बजे जीवित गणेश कुमारीको आगमन हुने र तलेजुबाट सरकारी पूजा ल्याई सिन्दूरजात्रा गरी उठाइन्छ । सोही दिन साँझ गाउँ परिक्रमा गरी साँझ ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइन्छ । सोही रात रथको अगाडि भक्तजनहरुले भजनकीर्तन गरी जाग्राम बस्ने चलन पनि छ ।
वैशाख ३ गते बिहान ७ बजे तपलाक्षीःबाट सिन्दूरजात्रा गरी देवता उठाएर गाउँ परिक्रमा गर्न लैजाने र बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाउने तालिका छ ।
सोही दिन अपराह्न ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लैजाने र मसानकालीको मन्दिर र गाउँको परिक्रमा गरी कोनेलाक्षीःमा बिसाएपछि राती भक्तजनहरुले रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।
जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान ६ः३० बजे सिन्दूरजात्रा गरी बाजागाजासहित गाउँ परिक्रमा गर्ने र बिहान ११ बजेतिर गच्छे टोलमा बिसाउने साथै सोही दिन अपराह्न ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सबै रथलाई गाउँ परिक्रमा गराएर आआफ्नो देवी घरघरमा भित्र्याएपछि जात्रा समापन हुन्छ।भने,वैशाख ५ गते बिहान ६ः३० लिङ्गो ढाली जात्रा विर्सजन गर्ने पुजातालिका भएको पनि समितिले जानकारी दिएको छ ।
सो पत्रकार सम्मेलनमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले टोखाभित्रका ऐतिहासिक पर्व एवम् धार्मिक तथा सांस्कृतिक धरोहरलाई नगरपालिकाले उच्च प्राथमिकता राखेको बताए।उनले टोखाका जात्रा व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक बजेट पनि विनियोजन गरेको स्पष्ट पारे ।
उनले आफ्नो दुई पटकको कार्यकालमा टोखाका धार्मिक तथा सांस्कृतिक धरोहरहरुको व्यापक संरक्षण र प्रर्बद्धनमा जोड दिएको दाबीसमेत गरे।
