महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

२९ वैशाख,म्याग्दी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।

ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो ।

सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन्।

स्थानीयका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सीनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिए ।