विदेशी युवतीको फेक अकाउन्ट बनाएर ब्ल्याकमेल, १५ बंगलादेशी नागरिक पक्राउ

१९ जेठ,काठमाडौँ ।काठमाडौँको पर्यटकीय क्षेत्र ठमेल र आसपासलाई केन्द्रबिन्दु बनाएर अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका वडा नं. १६ पकनाजोलस्थित होटल एसबाट पक्राउ गरेको हो।

भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत शङ्कास्पद रूपमा बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले जेठ १५ गते उक्त होटलमा छापा मारेको थियो।

अनुसन्धानका क्रममा पक्राउ परेका बंगलादेशी नागरिकहरूले होटल एसको चौथो, पाँचौँ र छैटौँ तल्लाका कोठाहरू भाडामा लिएर अवैध धन्दा चलाइरहेको खुलेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा विदेशी मोडल तथा युवतीहरूको नक्कली अकाउन्ट बनाएर बंगलादेशी र भारतीय नागरिकहरूलाई तारो बनाउने गरेका थिए।

युवतीका नामबाट सर्वसाधारण पुरुषहरूलाई साथी बनाउने, कुराकानी गर्ने र पछि विभिन्न बहानामा ब्ल्याकमेल गरी मोटो रकम माग गर्ने जस्ता साइबर अपराध र अवैध गतिविधिमा उनीहरू संलग्न रहेको अवस्थामा फेला परेका हुन्।पक्राउ पर्नेहरूमा २०, २१ , २२, २४ , २५,२६ र ३० वर्षका सबै बंगलादेशी युवा उमेर समुहका नागरिकहरू छन् ।

अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका सबै विदेशी नागरिकहरूलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको छ।

सांकेतिक तस्विर : उमेश चन्द्र