मौसम पूर्वानुमान : कुन ठाउँमा छ वर्षाको सम्भावना ?

१० असार,काठमाडौं । हाल देशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव पनि  छ। जसको प्रभावले हाल देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ तर बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बागमती प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।