
१६ असार, काठमाडौँ। शनिबार, आइतबार वा अन्य सार्वजनिक बिदाका दिन थापाथली चोकमा ‘ट्राफिक प्रहरी छैन’ भन्दै तपाईंले ट्राफिक नियम त मिच्नुभएको छैन ?
रातो बत्तीमै हुइँकिने वा लेन मिच्ने त गर्नुभएको छैन ?
ट्राफिक प्रहरी छैन भनेर यस्तो गरिरहनुभएको छ भने तपाईं गल्ती गर्दै हुनुहुन्छ वा जसबापत कि कारबाही परिसक्नुभयो वा पर्ने सम्भावना छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले पछिल्लो समय थापाथली चोकमा सार्वजनिक बिदाका दिन ‘ट्राफिकमुक्त अभियान’ चलाएको छ।
अन्य दिनभन्दा सार्वजनिक बिदाको समयमा सवारी चाप कम हुने र त्यस दिन निगरानी गर्न सहज हुने भन्दै सार्वजनिक बिदाको दिन थापाथली चोकमा पोसाकरहित ट्राफिक व्यवस्थापन सुरु गरिएको छ।
अहिले सादा पोसाकमा सडकमा ट्राफिक प्रहरी खटिएका हुन्छन् भने युनिफर्म लगाएका केही ट्राफिक प्रहरी भने थापाथली चोकका केही घरका छतमा बसेर समेत निगरानी गरिरहेका हुन्छन्।
कोही(कसैले ट्राफिक नियम उल्लङ्घन गरे सादा पोसाकमा बसेका ट्राफिक प्रहरीले तत्कालै जरिबानाको चिट थमाउँछन्। छतबाट पनि क्यामेराले सडकका सबै गतिविधि कैद गरेको हुन्छ। यसका साथै सीसीक्यामेराले समेत कैद गरेका दृश्यका आधारमा ट्राफिक प्रहरीले चिट थमाउँछ।
प्रविधिमार्फत काठमाडौँ उपत्यकामा मात्र ट्राफिक प्रहरीले एक महिनामा ७३ हजार २९९ चालकलाई कारबाही गरेको छ। जसमा ई(चलानमार्फत सबैभन्दा बढी २४ हजार २९१ चालक कारबाहीमा परेका छन्।
