
२६ असार, बागलुङ। बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन् ।
१५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए ।
उनका अनुसार ११४ महिला र १०० जना पुरुष रहेका छन् । सङ्क्रमितले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा निरोधात्मक सेवा लिइरहेको उनको भनाइ छ ।
असुरक्षित यौन सम्पर्क, रगत लिँदारदिँदा तथा लागुऔषध प्रयोगकर्ताबाट एचआइभी सर्ने उनको भनाइ छ । समाजमा लाञ्छना र भेदभाव हुने हुँदा सङ्क्रमित पहिचान गर्न समस्या हुने गरेको छ ।
