अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

३२ असार, काठमाडौं । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

आज बुधबार विहान अटलान्टा स्टेडियममा भएको रोमाञ्चक तथा सनसनीपूर्ण सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै अर्जेन्टिनाले फाइनलमा प्रवेश गर्न सफल भएको हो।

४० वर्षअघि सन् १९८६ को विश्वकपमा म्याराडोनाले खेलका क्रममा यी दुई टोलीबीच जुन २–१ को नतिजा निस्किएको थियो, ठीक त्यही स्कोरलाइनमा अर्जेन्टिनाले जितको फारम दर्ता गरेको छ।

यो जितसँगै अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुग्न सफल भएको छ   ।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक र रक्षात्मक रह्यो। दुवै टोलीले सुरुवाती चरणमा खासै ठूला अवसरहरू सिर्जना गर्न सकेनन्। तर,दोस्रो हाफको ५५ औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले आकर्षक गोल गर्दै इंग्ल्यान्डलाई १–० को अग्रता दिलाए ।

गोल खाएपछि अर्जेन्टिनाले इंग्ल्यान्डमाथि लगातार आक्रमण बुन्यो। खेल सकिन ५ मिनेट मात्र बाँकी रहँदा लियोनेल मेसीको पासमा एन्जो फर्नान्डेजले बक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिँदै गर्दा,इन्जुरी समयको दोस्रो मिनेट ९९०ं२० मा फेरि मेसीकै पासमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाए।

३९ वर्ष २१ दिनका मेसी विश्वकपको सेमिफाइनल खेल्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बनेका छन् ।

उनले सन् १९५८ मा फ्रिट्ज वाल्टर र गुनार ग्रेनले राखेको कीर्तिमान लाई तोडेका हुन्।खेलमा २ असिस्ट गरेका मेसी प्लेयर अफ दि म्याच समेत चुनिन सफल भएका छन् ।

तीन पटकको विश्वविजेता अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ।अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्नेछ ।

अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा उपाधि जितेको थियो ।